काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मेयर शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफमा माग्न आदेश गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता गरेर लिखित जवाफ माग गर्न आदेश भएको जानकारी दिए ।
शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी थिइन् । उक्त निवेदनमाथि मंगलबार न्यायाधीश श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।
उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै मेयर शाहले सामाजिक संजालमा घोषणा गरेका थिए । उनले अदालतलाई विभिन्न आक्षेप लगाएका थिए । हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि मेयर शाहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।
आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि मेयर शाहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, ‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’