काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थीलगायतका सबै घटनामा सरकारले निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा आज सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारका घटनामा कसैलाई बचाउने र कसैलाई अफ्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम नगरको दाबी गरे ।

साथै उनले भ्रष्टाचारका घटनाको अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छाड्न आवश्यक नरहेको भनेर प्रहरी प्रशासनलाई निर्देशन दिएको उल्लेख गरे । ‘मान्य सदस्यले भनेको जस्तो कसैलाई बचाउने, कसैलाई अफ्ठ्यारोमा पार्ने नियतले कुनै पनि काम गरिएको छैन,’ उनले भने, ‘जसरी कतिपय सन्दर्भमा मिडियामा आउने गरेको भन्दा ठिक विपरीत मैले दोषी कोही पनि नुछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासनलाई निर्देशन दिएको र मैले यतिसम्म पनि भनेको छु कि यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छाड्न आवश्यक छैन । मेरो पार्टीको नेताको त के कुरा भन्ने कुरा पनि मैले सार्वजनिक रुपमा भन्दै आएको जानकारी गराउन चाहन्छु ।’

उनले सबै किसिमका भ्रष्टाचारलाई सत्य र तथ्यका आधारमा अनुसन्धान, छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकार अहिले पनि उत्तिकै प्रतिबद्ध रहेको जनाए । ‘भ्रष्टाचारको मामलामा यो आफ्नो, यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन । गर्ने पनि छैन । कानुनी सिद्धान्तलाई सरकारले पूर्णत आत्मसाथ गरेको छ । गरिरहने छ,’ उनले भने ।

भुटानी शरणार्थीलगायतका घटना अहिले अदालतमा रहेको र अदालतले उचित फैसला गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘भुटानी शरणार्थीलगायत सबै घटनामा राज्यले दबाबरहित तरिकाले, निष्पक्ष छानबिन अगाडि बढाएकै कारण अहिले जनतामा सुशासन सम्भव छ भन्ने एउटा नयाँ आशा पलाएको हो भन्ने पनि म स्पष्ट गर्न चाहन्छु,’ उनले भने, ‘अहिले त्योसँग सम्बन्धित विषयहरु अदालतमा रहेको र अदालतले उचित फैसला गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

उनले कुर्सी टिकाउनका लागि नभएर देश र जनतामा छाएको वितृष्ण र सबै उस्तै हुन् भन्ने निराशावादी भाष्यलाई चिर्न सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरालाई स्थापित गर्न चाहेको स्पष्ट पारे । ‘सरकारका यी कामहरु कुनै कुर्सी टिकाउनका लागि होइन,’ उलने भने, ‘बरु देश र जनतामा राजनीतिक प्रणाली प्रति नै वितृष्णा छाएको, केही हुन्न, सबै उस्तै हुन् भन्ने निराशावादी भाष्य निर्माण गर्न खोजिएको परिस्थितिलाई चिर्न र सरकारले एकपछि अर्को राम्रो काम गर्दै आएको कुरा स्थापित गर्न पनि गरिएको छ ।’