काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने स्पष्ट पारेका छन् ।
सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएकाले विधिभित्र रहेर काम गर्ने उनले बताए ।
आफूले बजेट ल्याउँदा सीमित स्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले वास्तविकतामा बजेट आधारित रहेको दाबी गरे । बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसार बजेट नआएको आक्रोश मात्रै रहेको महतको टिप्पणी छ । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने महतले बताए ।
‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन’ महतले भने ‘थोरै साधन स्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो ।’ उनले भने ।