काठमाडौं । चलचित्र अवार्डको मुख्य विधा ‘सर्वश्रेष्ठ फिल्म’ बिनै राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेर चलचित्र विकास बोर्डले गाइजात्रा देखाएको छ । बोर्डको यो कदमले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने नेपाली चर्चित उखानलाई चरितार्थ गरेको छ ।
यो उखानलाई पनि विर्साउने गरी मंगलबार चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ आयोजना गर्यो । अवार्डमा सबैभन्दा महत्त्वपूर्ण मानिने ‘उत्कृष्ट फिल्म’को विधा पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कारबाटै गायब भयो । अर्थात् उक्त विधामा अवार्ड नै प्रदान गरिएन ।
‘उत्कृष्ट फिल्म’ बिना अवार्ड नै पूर्ण हुँदैन । जगबिना घर ठडिन सम्भव छैन भने जस्तै हो । तर, बोर्डले यसपटक ‘उत्कृष्ट फिल्म’को विधामा अवार्ड प्रदान नगरी गाईजात्रा देखाएको छ । यसले राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा र अस्तित्वमाथि ठूलो प्रश्न उठाएको टिप्पणी फिल्मकर्मीहरुले गरेका छन् । ‘उत्कृष्ट फिल्म’बाहेक अन्य विधामा अवार्ड बाँडिएको सम्भवतः नेपालमै पहिलो पटक हो ।
चलचित्र पुरस्कार समारोहमा जुरी टिमका संयोजक राजेन्द्र सलभ अनुपस्थित थिए । ‘उत्कृष्ट फिल्म’ विधामा अवार्ड वितरण नहुने भएपछि उनले असन्तुष्टि जनाउँदै कार्यक्रममा उपस्थिति नजनाएको स्रोतले बताएको छ । उक्त कार्यक्रममा उपस्थित अवार्डका एक जुरी सदस्यले भने ‘उत्कृष्ट फिल्म’को नाम बोर्डलाई बुझाएको भए पनि अवार्ड वितरण नहुँदा आफू अचम्ममा परेको बताए ।
ती जुरी सदस्यले भने, ‘हामीले बोर्डलाई ‘उत्कृष्ट फिल्म’को नाम बुझाएका थियौं । तर, अहिले नाम नआउँदा आफैं अचम्मित भएको छु । ‘उत्कृष्ट फिल्म’ बिना अवार्ड कसरी सम्भव हुन्छ ? यसको जवाफ बोर्डले अनिवार्य दिनुपर्छ ।’ त्यस्तै, बोर्डका एक सदस्यले यसपटक ‘उत्कृष्ट फिल्म’को विधा नराखिएको जानकारी गराए । तर, उनले त्यसको कारण भने खुलाउन चाहेनन् ।
निकट स्रोतका अनुसार, जुरी कमिटीले बोर्डलाई ‘उत्कृष्ट फिल्म’मा ‘प्रकाश’को नाम पठाएको थियो । तर, उक्त फिल्मलाई अवार्ड नदिन बोर्डलाई माथिल्लो तलबाट ठाडो निर्देशन आएपछि मुख्य विधामा अवार्ड नै नबाँडिएको स्रोतको दाबी छ । माओवादी युद्धले पारेको प्रभावको कथामाथि ‘प्रकाश’ आधारित छ । फिल्मलाई ‘उत्कृष्ट फिल्म’को अवार्ड नदिइनुको कारण यसैलाई मानिएको छ ।
यो फिल्म रिलिजकै समयमा माओवादीका नेता तथा निर्वतमान शिक्षामन्त्री देवेन्द्र पौडेलले जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै आपत्ति जनाएका थिए । अहिले माओवादीले नै सरकारको नेतृत्व गरिरहेको छ र बोर्डको तालुकवाला निकाय सञ्चार मन्त्रालय पनि माओवादीसँगै छ । यसैले ‘उत्कृष्ट फिल्म’मा परेको ‘प्रकाश’को नाम मन्त्रालयबाटै काटिएको स्रोत बताउँछ ।
अर्को रोचक कुरा के छ भने राष्ट्रिय चलचित्र पुरस्कारको जुरी टिममा माओवादी निकट फिल्मकर्मी चेतन सापकोटा (निर्माता) थिए । उनको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सञ्चार मन्त्री रेखा शर्मासँग राम्रो सम्बन्ध छ । ‘प्रकाश’लाई ‘उत्कृष्ट फिल्म’को अवार्ड दिनबाट रोक्नमा उनको ठूलो भूमिका हुनसक्ने अवार्ड कार्यक्रममै गाइँगुइँ सुनिएको थियो ।
तर, राष्ट्रिय चलचित्र पुरस्कारमा ‘प्रकाश’बाटै दिनेश राउतलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो भने यही फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड दीया मास्केले प्राप्त गरिन् । तर, जुरीले सिफारिस गरेको ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड दिन भने राज्य डराएको छ । चलचित्र विकास बोर्ड त विचरो नामको एउटा चरो हो । सञ्चार मन्त्रालयको आदेशमा मात्र बोर्डले सास फेर्ने गर्छ ।