काठमाडौं । सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।
सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।
सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानल १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’
आयातकर्ताले समेत प्लास्टिकका खोलमा बेच्न नपाउने
सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन् ।
उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।