विराटनगर । कोशी प्रदेश सरकारमा चुलिएको सत्ता सङ्कटका विषयमा कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीबीच भेटवार्ता भएको छ ।

सत्ता सङ्कटका विषयमा दुई पूर्वमुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेट भएको हो । भेटका क्रममा कोशीमा देखिएको सत्ता सङ्कटका विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनमा सहयोग गर्न राजेन्द्रलाई आग्रह गरेका छन् । आफूहरुबीच भेट भएको स्वीकार गर्दै पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनका बारेमा छलफल भएको बताए ।

उनले भने, ‘अस्थिर सरकार भएका कारण प्रदेशमाथि नै प्रश्न उठेको छ । प्रदेशमाथि उठेका प्रश्नहरूको जवाफ दिन पनि हामीले सहकार्य गर्न आवश्यक छ ।’

कोशीमा एमालेको नेतृत्वमा सरकार गठन भएको छ । संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । एमालेसँग बहुमत नभएका कारण अहिलेको सरकारलाई विश्वासको मत दिन शेरधनले आग्रह गरेको पूर्वमुख्यमन्त्री राजेन्द्रले बताए ।

‘पूर्वमुख्यमन्त्रीले आलोपालो सरकारसम्मको कुरा गर्नुभयो’, राजेन्द्रले भने, ‘मैले सकारात्मक भएको जवाफ दिएको छु ।’

उनले कोशी प्रदेशको समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताए । ‘हामीलाई सहयोग गर्नुस् भन्नुभयो । मैले साथीहरूसँग छलफल गर्छु भनेको छु’, राजेन्द्रले भने । उनले लामो समयपछि शेरधनसँग भेट भएको बताए ।

एमाले छाडेर एकीकृत समाजवादीमा लागेपछि यी दुई नेताका बीचमा भेट भएको थिएन । शेरधन प्रदेशको मुख्यमन्त्री हुँदा एमालेमै रहेका राजेन्द्रले शेरधनको कार्यशैलीप्रति सदनमा तीव्र विरोध गरेका थिए । यसपछि दुई नेताबीचको सम्बन्ध तिक्त बनेको थियो ।

दुवै पूर्वमुख्यमन्त्री भोजपुरका हुन् । उनीहरूबीच लामो समयदेखि राजनीतिक प्रतिस्पर्धासमेत चल्दै आएको छ ।