काठमाडौँ । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ ।
आज बिहान साढे ८ बजे फ्लाइ दुबईमार्फत चार नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत विमानस्थल पुगेका थिए ।
इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका नारायण न्यौपाने (कैलाली), लोकेन्द्रसिंह धामी (दार्चुला), दीपेशराज विष्ट (दार्चुला) र आशिष चौधरी (कैलाली)को शव कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाएको हो ।
अन्य शव पहिचानको क्रममा रहेकाले पहिचानपश्चातमात्रै नेपाल पठाइने जनाइएको छ। त्यस्तै बेपत्ता रहेका विपिन जोशीको उपलब्ध सम्पूर्ण संयन्त्र प्रयोग गरी खोजीकार्य जारी राखेको दूतावासले जनाएको छ।
यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल गएका १० नेपालीको निधन भएको थियो ।