काठमाडौं । ट्विटरका मालिक इलन मस्क अनेक फण्डा गरेर दुनियँलाई चकित पारिरहन्छन् । गत चैतको अन्तिम सातातिर ट्विटरको लोगोमा निलो चराको ठाउँमा ३ दिनसम्म कुकुर राखेका मस्कले यसपटक चरा हटाएर ‘एक्स’ राखेका छन् ।
सोमबार विहानै ट्विटर मालिक मस्कले आधिकारिक रूपमै लोगोबाट ‘आइकनिक ब्लु-बर्ड’ हटाएर ‘ब्ल्याक एण्डह्वाइट एक्स’ प्रतिस्थापन गरेका छन् ।
‘एक्स’ सहितको नयाँलोगो ट्विटरको एप र वेबभर्जनमा देखिएको छ भने ट्विटरको आधिकारिक ‘ट्विटर ह्याण्डल’ को नाम पनि ‘एक्स’ मा रूपान्तरण गरिएको छ । यसका साथै ट्विटर मुख्यालयमा पनि नयाँ लोगो प्रदर्शन गरिएको छ ।
मस्कले यस अघि नै आफूले ट्विटरलाई बदलेर ‘एक्स- द एभ्रिथिङ एप’ बनाउन चाहेको बताएका थिए । अहिले एक्स डटकम भिजिट गर्दा पनि ट्विटर खुल्ने भएको छ ।
नयाँ ब्राण्डिङसँगै मस्कले ट्विटर प्लेटफर्ममा धेरै परिवर्तन गर्ने आकलन गरिएको छ ।