काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीलाई टेलिफोन गरेका छन् ।
इजरायलको सेदोत नेगेभस्थित बंकरमा रहेका दाङ नारायणपुरका विपीन सुवेदीले प्रधानमन्त्री दाहालले सुरक्षित बस्न आग्रह गरेको जानकारी दिए । सरकारले सक्दो छिटो उद्धारका लागि सबै प्रयास गरिरहेको भन्दै तयारी अवस्थामा बस्न पनि प्रधानमन्त्रीले भनेका छन् ।
इजरायलमा रहेका नेपालीको विषयमा सरकार लगातार लागी परेको उल्लेख गर्दै प्रधानमन्त्रीले धैर्य गर्दै सुरक्षित बस्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीलाई विपीन र साथीहरुले आफूहरुलाई यो बेला शीघ्र नेपाल फर्कने चाहना बाहेक अरु केही नचाहिएको भन्दै सरकारसमक्ष गुहार मागेका छन् ।
प्रधानमन्त्रीले इजरायल सरकारको अनुमति पाउनेबित्तिकै उडाउनका लागि विमान तयारी हालतमा राखिएको भन्दै धैर्य गर्न आग्रह गरे । यसका लागि आज अपराह्न मन्त्रिपरिषद बैठक बस्न लागेको जनाउँदै उनले परराष्ट्रमन्त्री स्तरीय कुराकानी पनि हुने जनाए ।
दाहालभन्दा अघि बोलेका परराष्ट्रमन्त्री एनपी साउदले इजरायल दुतावासका कर्मचारीसहित सुरक्षाकर्मीबाट उद्धार हुने आश्वासन दिए ।
दुतावासले एनआरएन प्रतिनिधिसहित उद्धार पहल गरिरहेको उनले बताए ।