काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै ४९ पदाधिकारीले प्रस्ताव दर्ता गराएका छन् । नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्ट बहुमत सदस्यले बर्खास्तीको माग गरेका हुन् ।

एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्वमहासचिव इन्द्रमान तुलाधरसहित बहुमत सदस्यले विशेष साधारणसभाको माग गर्दै आज वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई प्रस्ताव बुझाएका हुन् ।

नेतृत्वले विधानविपरीत संघ चलाएको र लिगहरु सञ्चालन गर्न नसकेका कारण यो अवस्था सिर्जना भएको संकटा क्लब अध्यक्ष इन्द्रमान तुलाधरको भनाइ छ । अध्यक्ष तुलाधारले भने, ‘नेतृत्वका कारण ए डिभिजन लिग जसोतसो भयो । बी भएन, सी भएन, विद्यालयस्तरको प्रतियोगिता भएन । ललित स्मृति भएन र महिला लिग भएन । यसरी फुटबललाई धराशायी बनाउन एन्फा गइरहेकाले यही नेतृत्व राख्दा झन् बढी क्षति हुन्छ भन्ने हाम्रो भनाइ हो ।’

नेतृत्वले आफैँले बोलाएको आमसभामा बहुमत सदस्य अनुपस्थित रहेको दाबी गर्दै तुलाधारले नैताकताका आधारमै अध्यक्ष नेम्वाङले राजीनामा दिनुपर्ने तर्क गरे । उनले थपे, ‘अवैधानिक तरिकाले आमसभा गरियो । ५१ प्रतिशत नपुगेपछि उहाँले स्वत: नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । किनभने आफूले बोलाएको आमसभामा बहुमत नपुगेपछि पद छोड्नुपर्थ्यो उहाँले ।’

विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको एजेन्डा रहनेछ । यो प्रस्तावअनुसार तीस दिनभित्र एन्फाको विशेष साधारणसभा बोलाउनुपर्नेछ । ३० दिनभित्र विशेष साधारणसभा नबोलाए आफूहरुले नै मिति तोक्ने उनीहरुले चेतावनी दिएका छन् ।

एन्फामा कुल मतदाता संख्या ८६ रहेको छ । अघिल्लो वर्ष शेर्पालाई पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।