हान्झाउ । १९औं एसियाडमा नेपालको नाम शुक्रबार पदक तालिकामा समावेश भएको छ । नेपालको महिला कबड्डी टिमले कास्य पदक जितेको हो ।

नेपालले यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेको थियो । शुक्रबार सेमिफाइनल खेलपछि नेपाल कास्यमै रोकिँदै पदक तालिकामा समावेश भएको हो । महिला कबड्डीमा सेमिफाइनलमा नेपाल भरतसँग पराजित भएपछि कास्य पदक जितेको हो ।

हान्झाउ एसियाडमा १४ औं दिनको खेल सकिँदा घरेलु टोली चीन १८७ स्वर्ण, १०४ रजत र ६२ कास्यसहित कुल ३५३ पदक जितेर पहिलो स्थानमा छ । २९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपालले भने अहिलेसम्म महिला कबड्डीमा मात्र पदक जितेको हो ।

यद्यपि कपर्दीको फाइनल नसकिएका कारण नेपाली खेलाडीले पदक भने पहिरिन पाएका छैनन् ।

पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङमा खाली हात हुँदा करातेमा पनि नेपालको प्रदर्शनले निराश बनाएको छ । यस्तै नयाँ खेल इस्पोर्टस र डान्स स्पोर्टसमा पनि नेपालले पदक जित्न सकेन । एसियाड सकिन दुई दिन मात्र बाँकी रहँदा अब करातेका ८ मध्ये ५ खेलाडीको चुनौती सकिसकेको छ ।

अब नेपालका तीन कराते खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । क्यानोइङमा नेपालका गणेश गुरुङले शनिबार सेमिफाइनलम प्रतिस्पर्धा गर्नेछन् ।

ब्रेकिङ डान्समा दीपक लामा भने शुक्रबार पहिलो चरणबाटै बाहिरिए । महिला भलिबलमा लगातार पराजित भएको नेपालका कुस्ती खेलाडीले पनि कुनै खेल जित्न सकेका छैनन् ।