काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा टस जितेर भारतले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ
पाएको हो ।
यो समाचार तयार पार्दासम्म नेपालले ९ ओभरको खेलमा एक विकेट गुमाएर ६५ रन बनाएर खेलिरहेको छ । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार प्रदर्शन गरेका छन् । पहिलो विकेटको रुपमा नेपालले कुशल भुर्तेललाई गुमाएको छ । उनले ३८ रन बनाए ।
यसअघि मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत पाकिस्तानबीचको खेल वर्षाले रद्ध भएको थियो।
सोमबार नेपालले एक जना खेलाडी परिवर्तन गरेको छ । आरिफ शेखको ठाउँमा आज भीम सार्कीलाई खेलाइएको छ ।
नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ। सोमबार हुने खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । भारतसँग खेल्न पाउनु नै एउटा सपना जस्तो रहेको नेपाल यो स्थितिलाई लिएर निकै रोमाञ्चित छ।
पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।
नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।