काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।
भक्तपुरको एक कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले कोशीमा प्रदेश नाम खारेजीको माग गर्दै भएको पहिचानवादी आन्दोलन माओवादी र समाजवादीका पार्टीका कार्यकर्ताले गरेको आरोप लगाए । उनले दुई अध्यक्ष नुवाकोटको प्रख्यात मेलामा गोरु जुधाए जसरी कार्यकर्ता जुधाएर साम्प्रदायिक हिंसा भड्काउन लागेको तर्क गरे ।
उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किरात, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, मनाधवकुमार नेपाल । यी बाहुनले नुवकोटमा हुन्छ एउटा खेल साढे जुधाउने भन्ने । ती साढेको केही दुष्मनी नै छैन । भेटेको पनि होइन, कहिल्यै । आफ्नो आफ्नो थलोबाट ल्याएर अखडामा भिडाउँछन् । अरु छेउमा बसेर तालि बजाउँछन् । प्रचण्ड र माधव नेपालहरु त्यसै गरेर नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेका छन्, त्यो कुरा हुन दिँदैन ।’ यसरी साप्रदायिक हिंसा फैलाउन एमालेले नदिने ओलीको दाबी छ ।
गत फागुनमा एमाले नेतृत्वको सरकाले प्रदेश १ को नाम कोशी राखेको थियो । कोशी नामकरण खारेजीको माग गर्दै ‘१ नम्बर प्रदेश नामांकन संयुक्त संघर्ष समिति’को ब्यानरमा पहिचानवादी विभिन्न समूहले एकसाथ आन्दोलन गर्दै आएको छ । गत वैशाखमा यही विषयलाई लिएर आन्दोलनकारीले एमाले अध्यक्ष ओलीलाई पूर्वमा आक्रमणको प्रयास गरेका थिए ।