महेन्द्रनगर (कञ्चनपुर) । सोमबार बिहान चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको महिला कबड्डीमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै बङ्गलादेशलाई पराजित गर्यो ।
नेपाली महिला खेलाडीले एसियाली खेलकुदमा डेब्युमै पदकको सम्भावना उच्च बनाएपछि महिला कबड्डी खेलाडी मंगलबार इरानसित हुने प्रतिप्रर्धामा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिन तयार छ ।
बंगलादेशसित जित निकाल्दै समूह ‘बी’ मा दोस्रो स्थान बनाएको नेपालले कास्य पदक ल्याउन इरानले बंगलादेशलाई हराउनु पर्ने हुन्छ ।
‘इरान यसअघि सन् २०१८ मा इन्डोनेसियाको एसियाली खेलकुदमा स्वर्ण पदक विजेता टोली हो ।’ महिला कबड्डीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले भने, ‘इरानले बंगलादेशलाई सहजै हराउने अनुमान गरेका छौँ ।’
पदक नजिक पुगेको नेपाली महिला कबड्डी खेलाडीहरु इरानसित उत्कृष्ट प्रर्दशन गर्नेमा ढुक्क रहेको प्रशिक्षक भट्टको भनाइ थियो । एसियाली खेलकुदको महिला कबड्डीमा सात टोलीको मात्र सहभागिता छ ।
‘इरान धेरै बलियो टोली हो, बंगलादेशसित हार्यो भने मात्रै अंकका आधारमा पछि पार्न सक्छौँ भन्ने छ ।’ उनले भने, ‘तर इरानलाई बंगलादेशले हराउन मुश्किल छ ।’
आजको खेलमा जयन्ती बडू र मानमती विष्टको उच्च प्रर्दशन रहेको उनको भनाइ थियो । ‘डिफेन्स धेरै राम्रो गर्नाका साथै अहिलेसम्मकै उत्कृष्ट खेल्यौँ ।’ उनले भने, इरानले पनि हाम्रो टोलीको खेल देखेको छैन्, नजिता जे पनि हुनसक्छ ।’
१२ जना सम्मिलत कबड्डी टोलीमा सात खेलाडी सुदूरपश्चिमका रहेकामा छ जना महेन्द्रनगर र एक जना धनगढीका खेलाडी रहेको प्रशिक्षक भट्टले जानकारी दिए ।
उनले १९९० मा आफूले खेल्दा बंगलादेशसित सेमिफाइनलमा एक अंकले पराजित भएको स्मरण गराए । ‘त्यो बेला हामी खेल्दा एक अङ्कले हारेको थियौँ ।’ प्रशिक्षक भट्टले भने, ‘अहिले महिला टोलीले त्यसको बदला लियो ।’
उनले खेलाडी म्याचमा सहभागी हुनाका साथै पहिलो खेल जित्दा मनोबल उच्च रहेको बताए । यसअघि नेपाली महिला टोलीले साफमा रजत पदक जितेको थियो ।
नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरेका साथै बदलामा नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका छन् ।