काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ ।

रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । पूर्वमन्त्री समेत रहेका यादवको टाउको पछाडि र जिउमा चोट लागेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

खुकुरी प्रहारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरिसकेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले बताएका छन्।