काठमाडौं । कुशल भुर्तेलको ६ विकेट तथा सानदार अर्धशतकको सहयोगमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल युएई ‘ए’ लाई पराजित गरेको छ ।
श्रीलंकाको कोलोम्बोस्थित पी.सारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को ‘ए’ टिमलाई तीन विकेटले पराजित गरेको हो ।
युएईले दिएको एक सय ५८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । कुशल भुर्तेलले सर्वाधिक ७१ रनको सानदार अर्धशतक बनाए । उनले ४३ बलमा ९ चौका र चार छक्का प्रहार गरे ।
त्यसैगरी देव खनाल र सन्दीप जोराले समान २४/२४ रनको योगदान दिए । गुल्सन झाले ११ रन जोडे । कप्तान रोहित पौडेलले ९ रन जोडे भने प्रतिश जिसिले अविजित ८ रन बनाए । कुशल मल्ल २ रनमा अविजित रहे ।
बलिङतर्फ युएइका मोहम्मद फाराजुदिन एक्लैले पाँच विकेट लिए भने मुहम्मद जवादुल्लाहले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । यूएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५२ रन बनाए ।
त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आर्यान्स शर्माले १४ रन जोडे । बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले ६ विकेट लिए भने श्याम ढकालले २ विकेट झारे । कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए ।
प्रतियोगिताबाट बाहिरिसकेको नेपालले यो खेलमा हात पारेको जितसँगै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यूएई ए भने जितविहीन हुँदै घर फर्किएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।