विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।

कांग्रेस-माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मतका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताउँछन् ।

सरकारसँग विश्वासको मत फेस गर्ने र राजीनामा दिने दुई वटै विकल्प रहेको बताउँदै उनले परिस्थिति हेरेर अघि बढ्ने बताए ।

वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ । उपधारा ५ अनुसार नेतृत्वमा एमालेले पनि दाबी गर्ने भण्डारीले बताए ।

कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ ।

उपधारा ५ अनुसार सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र इतर समूहका नेता केदार कार्की दाबेदार छन् ।

गत शुक्रबारको संसदीय दलको बैठकमा कार्कीले नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए । थापाले नेतृत्वमा आफ्नो स्वभाविक दाबी रहने बताएका थिए ।

गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । नेकपा एकीकृत समाजवादी पार्टी आङ्बोलाई नै अघि सार्नुपर्ने पक्षमा छ ।