विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिने छन् ।
प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशमा एक वर्षको अवधिमा ५ औं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । एक वर्षको अवधिमा हिक्मत कार्की र उद्धव थापा २/२ पटक मुख्यमन्त्री बनेका थिए।
संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।
यही धारा अन्तर्गत कार्कीले एमालेको सहयोगमा शुक्रबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कार्कीले दाबी पेस गरेका थियो ।
सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोले शनिबार भने सनाखत गरेनन् । र कार्कीले ४७ सदस्यको सनाखत गरेसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कोशी प्रदेश सभामा ९३ सांसद रहेकामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ ।