विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहेका थिए । तर उपसभामुख सृजना दनुवारले सोमबारका लागि बैठक राखिन् र बिहान उपचारका लागि भन्दै काठमाडौं हिँडिन् ।

त्यसअघि उनले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोकेकी थिइन् । मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गरे ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव राखे । सत्तारुढ दलका साथै विपक्षी एमालेका नेताहरुले बोले । मुख्यमन्त्री थापाले जवाफ दिएपछि मन्सुरीले मतदान प्रक्रिया सुरु गरे ।

मतदान सकिएपछि मत सच्याउन तीन मिनेट समय तोके । अनि अध्यक्ष मण्डलका अर्का सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षता गर्न आग्रह गरे र आफू मतदानका लागि गए ।

प्रमुख प्रतिपक्षी एमालेका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरे । तर मन्सुरी मत दिएर पुनः बैठकको अध्यक्षता गर्न गए र मत गणना गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

आफैंले दिएको मत समेत जोडेर उनले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरे ।

यसअघि गत असार २१ गते पहिलोपटक मुख्यमन्त्री बनेका थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर बुझाउँदै बहुमत देखाएर सरकार गठन गरेका थिए । उक्त कदमलाई सर्वोच्च अदालतले ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएपछि नयाँ प्रक्रियाबाट उनी गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था बमोजिम उनले आज मत लिएका हुन् । यसक्रममा आज फेरि सभाध्यक्षलाई मतदान गर्न लाएर दुरुपयोग गरिएको हो ।