विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।

कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

२०१४ मंसिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका ४ का स्थायी बासिन्दा हुन् । थापाले ०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा सुरु गरेका थिए । ०४७ सालमा अर्जुनधारा गाउँ समिति सचिव बनेका थापा २०४८ को आठौं जिल्ला अधिशेनबाट पार्टीको २ नम्बर क्षेत्रीय सभापति निर्वाचित भए ।

१०औं अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११औं अधिवेशनबाट जिल्ला उपसभापति र १२औं अधिवशेनपछि जिल्ला सभापति बनेका थिए । व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर तीन वर्ष काम गरेको अनुभव बटुलेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

गठबन्धन दलका नेताहरुले आ-आफ्ना दलका प्रदेश सांसदको संख्या उल्लेख गरी हस्ताक्षर गरेर सरकार गठनका लागि दाबी पेस गरेका हुन् । प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् । कांग्रेस नेता थापाले सानो आकारको मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए ।