काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

गठबन्धनको बैठकमा कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकपछि उनले भने, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’

उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् ।

आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपराह्न ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।