पर्वत । भीषण वर्षासँगै मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–७ को तमादीखोलामा एउटा जिप बगेको छ । साँझ ७ बजेतिर बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ६२१३ को टाटासुमो जिप तमादीखोलाले बगाएको हो ।
खोलाको बीचभागमा जिप फसेको र चालकले ओट लगाउने क्रममा माथीबाट गेग्रान सहितको हिलो आएर बगाएको पर्वत प्रहरी प्रमुख खुमलाल भुसालले बताए । घटनास्थलमै रहेका भुसालका अनुसार जिपमा चालकसहित ४ जना सवार थिए ।
बागलुङको धौलागिरि काउन्टरबाट एकजना तथा अन्य दुई जना बाटोबाटै चढेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको भुसालले बताए ।
वर्षा भइरहेकोले हराएकाहरुको खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । हराएका सबै पुरुष भएको र उनीहरुमध्ये कसैको पनि सनाखत हुन सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी उद्धार तथा खोजीकार्यमा संलग्न छन् ।