काठमाडौं । सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छल्ने गरी कानुन बनाएर भ्रष्टाचार गरिएको दाबी गरे । नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा कौडीको भाउमा नेपाल सरकारले यति होल्डिङसलाई भाडामा दिएकाले छानबिनको माग गरेका हुन् ।
सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे । भ्रष्टाचारका काण्डमा छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उनले माग गरेका हुन् । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगान निजीकरणका नाममा भ्रष्टाचार भएको भन्दै छानबिन गरिनुपर्ने बताए ।
सांसद भानुभक्त जोशीले शून्य समयका विषय सरकारले सम्बोधन नगरेको बताउँदै संसद्मा उठेका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सांसद मङ्गलप्रसाद थारुले सरकारी निकायमा बेरुजु बढ्दै गएकाले यसको नियन्त्रण गरी भ्रष्टाचार रोक्न माग गरे । सांसद योगेशकुमार भट्टराईले पहाडी जिल्लामा जग्गाको वर्गीकरण अव्यावहारिक भएकाले सच्याउन माग गरे । ताप्लेजुङ जिल्लामा कर कार्यालय नभएकाले कर तिर्न पनि समस्या रहेको उल्लेख गर्दै उनले कर कार्यालय जिल्लामै खोल्न पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद रघुजी पन्तले चुच्चे नक्साका विषयमा सरकारले अहिलेसम्म के के गरेको छ, त्यसको जानकारी संसद्मा गराउन माग गरे । सांसद रञ्जुकुमारी झाले २०७८ साल असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा शिलान्यास गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल अलपत्र रहेकाले छिटो निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।