काठमाडौं, ८ असार । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् ।
दुर्घटनामा परी सहिद लखन गाउँपालिका-५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन-४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहेका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए । उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका-३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङ फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो । घट्ना लगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।