काठमाडौं । भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै राजनीतिक दलका नेताहरुले बधाई दिएका छन् ।

प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताएका छन् । उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन् ।

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् । चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।

यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् । भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । उनले भनेका छन्, ‘चन्द्रयान–३ को सफल अवतरणका लागि प्रधानमन्त्री मोदी र भारतका जनतालाई बधाई ! अन्तरिक्ष क्षेत्रमा भारतले गरेको यो उल्लेखनीय प्रगति हो । हामी इसोराका वैज्ञानिकको उत्कृष्ट कामको प्रशंसा गर्दछौँ ।’

भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।