काठमाडौं । नेपाली फिल्ममा तीन दशक विताइसकेका निर्देशक शोभित बस्नेत आफ्नो अभिव्यक्तिका कारण प्रायः चर्चा र विवादमा आइरहेका हुन्छन् । केही वर्षअघि उनले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको थियो । यसको असर उनीद्वारा निर्देशित फिल्म ‘डाँडाको वर पीपल’लाई समेत परेको थियो । तर, विवादको डरले आफ्नो अभिव्यक्ति राख्न भने उनी डराउँदैनन् ।
‘दुर्गा, ‘कर्णवीर’, ‘अग्नीपथ’, ‘राजु राजा राम’, ‘चिनो’, ‘दानवीर’ जस्ता फिल्मबाट सफल निर्देशकको रुपमा चिनिएका शोभित फिल्म निर्माण र अभिनयमा पनि सक्रिय छन् । उनी स्वयंले निर्माण गरेको नयाँ फिल्म ‘जय हो’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यो फिल्मलाई ब्रान्ड बनाउने उनको अठोट छ । यसैले उनले लगानी र प्रचारमा खर्च गर्न कुनै कसर छाडेका छैनन् ।
‘जय हो’मा नयाँ स्वाद पस्किने प्रयास गरेको उनको भनाई छ । यो फिल्ममा भएको लगानीले आफूले चारवटा फिल्म बनाउने समेत निर्माता बस्नेत बताउँछन् । उनी भन्छन्, ‘मेरो अर्को फिल्म ‘बद्री बहादुरी’ पनि रिलिजको तयारीमा छ । मैले ‘जय हो’ जति बजेटमा निर्माण गरेको छु, त्यतिमा त मैले ‘बद्री बहादुर’ जस्तो चारवटा फिल्म चाहिँ बनाउँछु । त्यसरी मैले यो फिल्ममा लगानी गरेको छु ।’
आफूलाई फिल्म क्षेत्रमा दिगो रुपमा लग्नुपर्छ भन्ने सोचले ‘जय हो’ बनाएको शोभितको तर्क छ । ‘मेरा फिल्महरु अहिलेसम्म घाटामा गएको जस्तो लाग्दैन । र, १० वर्ष मैले किन फिल्म बनाइनँ भन्दा, पहिला म जसरी काम गर्थेँ त्यसरी गरेर हुन्न भनेर हो । अब जुन काम गर्छु त्यसले मलाई दिगो लग्नुपर्छ भनेर नै ‘जय हो’ बनाएको छु । यसैलाई ब्रान्ड बनाउँछु भनेर अघि बढेको छु,’ बस्नेतले भने ।
फिल्म प्रदर्शन हुनुअघि आफूले लगानी सुरक्षितको सुनिश्चिता गरिसक्ने बताउँदै उनले ‘जय हो’ पनि एक हिसाबले सुरक्षित भैसकेको दाबी गरे । ‘म अर्बपतिको छोरा होइन कि लगानी नउठे पनि बारम्बार फिल्म बनाइरहन सकुँ,’ उनी भन्छन्, ‘मैले फिल्म रिलिजको एकदिन अगाडिसम्म लगानी सुरक्षितको ग्यारेन्टी गरिसकेको हुन्छु । ‘जय हो’को पनि मैले एक हिसाबले लगानी उठाइसकेको छु ।’
शोभितले ‘जय हो’ पाँचजना कलाकारमा केन्द्रित रहेको स्पष्ट पारे । माओत्से गुरुङ, निशा अधिकारी, केकी अधिकारी, अर्पण थापा र सलोन बस्नेतमा फिल्मको कथा घुमेको उनको भनाइ छ । हरेक एक कलाकारले बेजोडको काम गरेको बताउँदै उनले फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गरे । उनका अनुसार नेपालकै मितिदेखि अस्ट्रेलियाका विभिन्न सहरसमेत फिल्म प्रदर्शन हुनेछ ।