काठमाडौं । चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

तर भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरु अझै बसिरहेका छन् । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा बाहिर ल्याएको हो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो ।

सन् २०२३ को संस्करण भन्दै उल्लेख गरेको उक्त चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएको हो । ‘यो नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको हो,’ ग्लोबल टाइम्समा उल्लेख छ । ताइवानसमेतलाई समेटिएको चीनको नयाँ नक्सामा नेपालको बुच्चे नक्सालाई कायम गरेर ग्लोबल टाइम्सले आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेको छ ।

भारत र चीन बीच सीमा विवाद चलिरहँदा दुवै मुलुकले दाबी गरिरहेका ‘अक्साई चीन’ र अरुणाञ्चलको भागलाई समेटेर चीनले नक्सा निकालेको हो । तर चीनले आफ्नो नयाँ नक्सा जरी गर्दै गर्दा छिमेकमा नेपालको नक्सालाई पनि समेटेको छ । जसमा नेपालको नयाँ चुच्चे नक्सालाई स्थान दिइएको छैन ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ चीनले नेपालको नयाँ नक्सालाई नसमेट्नुलाई दुई कारण मान्छन् । उनले भनेका छन्,‘पहिलो, नेपालको कूटनीति कमजोर भएको छ । दोस्रो, चीनले पनि नेपाललाई इग्नोर गरेको छ ।’

चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले भने अहिले कुनै पनि प्रक्रिया नदिने जनाएको छ । उच्च कूटनीतिक स्रोतले के भएको छ भन्नेबारे प्रष्ट बुझेर मात्र यस विषयमा प्रतिक्रिया दिने उल्लेख गरेको छ ।

चीनले नेपालको सीमा सम्बन्धमा विवादास्पद कुरा बाहिर ल्याएको पहिलो पटक भने होइन । सन् २०१५ मा भारतका प्रधानमन्त्री मोदीको चीन भ्रमणमा दौरान भारत–चीनबीच भएको ४१ बुँदे सम्झौताको २८ औं बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि कामकुरो गर्न मञ्जुर भएका छन्’ भन्ने उल्लेख गरिएको थियो । नेपाली भूभागलाई भारत र चीन दुवैले नेपाललाई नै नसोधी उक्त सम्झौता गर्नु नेपालको संवेदनशीलतामाथि चालेको कदम मानिएको छ । त्यसबेला नेपालले दुवै मुलुकहरु भारत र चीनलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो । जसको जवाफ दुवै देशले हालसम्म दिएका छैनन् ।