काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् । ‘फाउन्डेस अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताएका हुन् ।
सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सभामुख घिमिरेले भने, ‘ठूला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।’
नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए ।