काठमाडौं । एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकपको आफ्नो पहिलो खेलमा जाम्बियामाथि ५-० गोलको गोलको सानदार जित हात पारेको छ ।
न्युजिल्यान्डको ह्यामिल्टनमा शनिबार भएको खेलमा जापानका लागि हिनाता मियाजावाले दुई गोल गरिन् । सुरुवात देखि नै डेब्यू टिम जाम्बियामाथि हाबी भएको जापानले ४३औं मिनेटमा हिनाताको गोलमार्फत अग्रता लिएको थियो । उनका लागि आओबा फुजिनोले क्रस दिएकी थिइन् ।
दोस्रो हाफमा जापानले चार गोल थप्यो । ५५औं मिनेटमा मिना तानाकाले टिमलाई दुई गोलको अग्रता दिलाइन् । ६२औं मिनेटमा हिनाताले व्यक्तिगत दोस्रो गोल गरिन् । एकपक्षीय खेलको ७१औं मिनेटमा जुन इन्डोले गोल गरेपछि जाम्बियाको खेलमा फर्कने सम्भावना लगभग समाप्त भएको थियो ।
इन्जुरी समयमा जाम्बियाकी क्याथिरन मुसोन्डा दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिन् । जापानले पेनाल्टीको अवसर पायो । क्याथरिनलाई रिप्लेस गरेकी युनिस साकालाले रिको युएकीले सुरुमा गरेको प्रहार बचाएकी थिइन् । तर उनले आफ्नो लाइन छोडेपछि मान्यता दिइएन र जापानले दोस्रो प्रयासमा गोल गर्यो ।
समूह ‘सी’मा रहेको सन् २०११ को उपाधि विजेता जापान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा तीन अंक नै जोडेको स्पेन छ । अंकविहीन कोस्टारिका तेस्रो र जाम्बिया चौथो छ । जारी विश्वकपमा अहिलेसम्म जाम्बियासहित रिपब्लिक अफ आयरल्यान्ड, भियतनाम र फिलिपिन्स कसैले पनि अंकको खाता खोल्न सकेका छैनन् ।