काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिने क्रममा बरामद भएको एक सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

साउन २ गते भन्सारबाट जाँचपास भई सकेको एक सय किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो
स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधारणलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।

टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफलसमेत गरिसकेको छ ।

यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री फर्किए पछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरेका छन् ।

सुन गाल्नका लागि राजस्व अनुसन्धन, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायत ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ ।

हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिकसहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारीसमेत छन् ।