काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको भएको छ । राजश्व अनुसन्धान विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ ।
अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको जनाएको छ । विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।
सुन तस्करीको वास्तविक मालिकको खोजी भइरहेको प्रहरी स्रोतले बतायो । अहिले भन्सार एजेन्ट राजेन्द्रकुमार राई र ट्याक्सी चालकलाई पक्राउ गरिएको छ । सुन हङकङबाट आएको बताइएको छ ।