काठमाडौं । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
आज गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने विभागले जनाएको छ ।
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घन्टा लाग्ने बताएन ।
‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तामाङले भने । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ ।
सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् । काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।
पहिरोले कान्तिलोकपथ अवरुद्ध
काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ-हेटौँडा यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
यता हेटौँडाबाट काठमाडौँका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ । चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौँबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।
यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौँडा त्रिभुवन राजपथ हुँदै काठमाडौँ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।
करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ । पहिरो हटाउन करिब चारदेखि पाँच घन्टाको समय लाग्ने यात्रामा निस्कनुभएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले जानकारी दिए ।
तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ-राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका-१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल-पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।
मालढुङ्गा-बेनी सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा-बेनी सडक अवरुद्ध बनेको छ ।
पर्र्वतको जलजला गाउँपालिका-७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन ।
वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।
यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए । निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ ।