काठमाडौं, ४ असार । मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा सोमबार दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चारवर्षे सम्झौता भएको हो ।

उक्त समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र डेमिन केजले हस्ताक्षर गरेको क्यानले जनाएको छ ।

समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिने छ । यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ ।

नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।