काठमाडौं, ८ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोलि शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ । नेपालले आफ्नो अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराए मात्र सुपर सिक्समा पुग्ने सम्भावना बलियो रहने छ ।

शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेर मात्र पुग्ने छैन । सोमबार समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पनि पराजित हुनु पर्नेछ । नेपालले सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुई खेल हार्नु पर्ने हुन्छ ।

यदी शनिबार नेपालसँग फराकिलो हार व्यहोरेर सोमबार वेस्ट इन्डिजसँग कम अन्तरले जित हात पारेमा पनि नेदरल्यान्ड्को नेटरन रेटको आधारमा सुपर सिक्सको सम्भावना सकिनेछ ।

आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल र नेदरल्यान्ड्सबीचमा पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा भने नेपाल र नेदरल्यान्डबीच खेल भइसकेको छ ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल नेदरल्यान्ड्स र नेपालको दुई एकदिवसीय खेलको सिरिजमा भएको थियो । पहिलो भेट २०१८ अगस्ट १ मा भएको थियो । यो भेट नेपालका लागि ऐतिहासिक रहेको थियो । यो खेल नै नेपाली क्रिकेटमा ओडिआई मान्यता प्राप्त पहिलो खेल रहेको थियो । तर, उक्त ऐतिहासिक खेल नेपालले गुमाएको थियो । उक्त खेल नेदरल्यान्ड्सले ५५ रनले जितेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच सोही सिरिजको दोस्रो खेलमा नेपालको पछिल्लो भेट भएको थियो । यस खेल नेपालले १ रनले रोमान्चक तबरले जितेको थियो ।