काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बर्खापछि भ्रष्टाचारका विरुद्धमा लाखौं जनता सडकमा उतार्ने घोषणा गरेका छन् । सडकमार्फत नै सारा बेथितिको जग हल्लाइदिने उनको भनाइ छ ।
सुर्खेतमा बिहीबार समाजवादी मोर्चाले गरेको सन्देश सभामा दाहालले प्रधानमन्त्री पदको चिन्ता नगरी भ्रष्टाचारको विरुद्धमा लागेको बताए ।
दाहालले भने, ‘अब बर्खा सकिएपछि लाखौं जनता सडकमा ल्याएर राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा भ्रष्टाचारका विरुद्धमा जगैदेखि हाल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याइ सरकारले गरिदिएला र खाउँला भन्यो भने त्यो भुल हुन्छ ।’
उनले वर्तमान नेतृत्व सरकार जोगाउने खेलमा लागेको भन्ने विपक्षीको आरोप तर्कसंगत नभएको जवाफ दिएका छन् । अबको बाँकी जीवन राष्ट्रका नाममा समर्पित गर्ने बताउँदै उनले थपे, ‘अब जे छ राष्ट्र, जनता, क्रान्ति र उपलब्धिको रक्षाका लागि आफ्नो जीवन सम्पूर्ण रुपले लगाउने बाहेक केही उद्देश्य छैन । त्यसकारण यो सरकार कति समय चल्छ चल्दैन मेरो टेन्सन त्यतातिर छैन ।’
आफू पदमा रहँदासम्म राम्रो कामको सुरुवात गर्ने अडान राख्दै आवश्यक र बाध्यात्मक परिस्थितिमा प्रधानमन्त्री छोड्न गाह्रो नमान्ने उनको दाबी छ। उनले प्रधानमन्त्रीबाट हटाउन गठबन्धनलाई चुनौती दिँदै भने, ‘राम्रो काम गर्दा कसले हटाउँदो रहेछ हेर्छु नेपाली जनताले पनि हेर्छन् ।’
वर्तमान सरकारको कदमले अवसरवादी र प्रतिक्रियावादी खपिनसक्नु भएको उनको भनाइ छ ।