काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिए । प्रधानमन्त्रीको साथमा उनकी छोरीहरु रेणु र गंगाले दागबत्ती दिए । अन्तिम संस्कार अगाडि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो । त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झन्ड ओडाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको बुधबार बिहान ८ : ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट उनी पीडित थिइन् । त्यही रोगका कारण उनी लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् ।

प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् ।

तस्बिर : रासस