न्युयोर्क । इरानी कारगारमा रहेका पाँच जना अमेरिकी नागरिकको रिहाइका निम्ति वासिङ्टनले इरानलाई छ अर्ब अमेरिकी डलर प्रदान गरेको छ । अमेरिका–इरान कैदी आदानप्रदान सम्झौताअन्तर्गत कतारी बैंकहरूमा उक्त रकम जम्मा गरिएको हो । अमेरिकी बन्दीहरूलाई इरानबाट बाहिर निकाल्न तेहरानमा तयारी अवस्थामा एउटा विमान राखिएको एक स्रोतले सोमबार एएफपीलाई बताएको छ ।
अमेरिकी निर्देशनमा दक्षिण कोरियाले उक्त रकम तेहरानलाई निकासा दिएको हो । सोललाई इन्धन बेचेको भुक्तानी अमेरिकी निर्देशनमा तेहरानले पाएको थिएन । आणविक वार्ताबाट इरान पछिहटेपछि ट्रम्प प्रशासनले तेहरानमाथि प्रतिबन्ध लगाउँदै दक्षिण कोरियाले भुक्तानी दिनुपर्ने रकम रोक्का गरेको थियो । वासिङ्टन र तेहरानबीच कूटनीतिक सम्बन्ध नभएकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले दुवै पक्षलाई रकम जम्मा भएको जानकारी दिएको छ ।
तेहरान र वासिङ्टनबीच बन्दी आदानप्रदान सम्झौताअन्तर्गत इरानमा थुनामा रहेका पाँच अमेरिकीका अनुसार अमेरिकामा हिरासतमा रहेका पाँच इरानीलाई पनि थुनामुक्त गरिने छ । कतारले इरानी र अमेरिकी अधिकारीहरूलाई स्विट्जरल्याण्डबाट छ अर्ब डलर कतारका बैंक खातामा स्थानान्तरण गरिएको सूचनासमेत दिइसकेको छ ।
पाँच अमेरिकी नागरिक र दुई जना उनीहरूका आफन्तलाई दोहा ल्याउन कतारी जेट इरानमा तयारी अवस्थामा रहेको कतारी अधिकारीहरूले बताएका छन् ।
तेहरानले पक्राउ गरेका पाँच जना इरानी मूलका अमेरिकी हुन् । इरानमा बन्दी बनाइएका अमेरिकीहरू मध्ये व्यापारी सियामक नमाजीलाई जासुसीको आरोपमा लगाइएको थियो ।
हिरासतमा लिइएका अन्य वन्यजन्तु संरक्षणवादी हुन् । अमेरिकाले पक्राउ गरेका एक जनामाथि जासुसी गरेको, अर्का दुई जना इरानी सेनासँग सम्बन्ध भएको तथा दुई जनाले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोप लगाएको थियो ।