काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ ।
बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरे पनि निष्कर्ष निस्कन नसकेकाले बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको हो ।
सभामुख घिमिरेले आजका लागि तय भएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले बैठक यही साउन १६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले सूचनामार्फत जानकारी दिए ।
आजको बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने र ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
यसैगरी, कानुन, नयाय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम ती आयोगको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर नेकपा (एमाले) ले सदनमा विरोध जारी राखेको छ । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार र आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।