काठमाडौं । बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा काठमाडौंको फोहोर विसर्जन गर्न नदिने भन्दै स्थानीय र जनप्रतिनिधिले आज पनि अवरोध गरेका छन् ।

यसअघि सरकार र काठमाडौं महानगरपालिकाले बारम्बार गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंबाट लगिने फोहोरमैला ल्याण्डफिल साइटमा विसर्जन गर्न उनीहरूले अवरोध गरेका हुन्। उनीहरूले मानवरहित फोहोर अथवा फोहोररहित मानव’ नारासहित विरोधलाई कायम राखेका छन्।

हिजो पनि फोहोर बोकेर विसर्जनका लागि जाँदै गरेका टिपरलाई धादिङ र नुवाकोटको सीमा क्षेत्र आलेटारमा रोकिएको थियो । ती टिपर काठमाडौं नै फर्किसकेका छन् ।

काठमाडौं महानगरपालिकाले आज कुनै फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पठाएको छैन ।