काठमाडौं । नेपाली दुई फिल्म आजदेखि हलमा लागेका छन् । जुलेबी र हिँड्दा हिँड्दै आजदेखि हलमा लागेका हुन् । त्यसो त आजदेखि अन्य तीन विदेशी फिल्म पनि हलमा लागेका छन् । एक बलिउड र दुई हलिउड फिल्म छन् । दर्शकलाई रुचिअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध छ ।

‘जुलेबी’लाई ड्रामा र रोमान्स जनरामा राखिएको छ । गणेशदेव पाण्डे निर्देशित फिल्मले काठमाडौंको रत्नपार्कमा भेटिएका ६ जना अपरिचित पात्रको सम्बन्ध र उतारचढावको कथा पेश गर्छ ।

फिल्ममा निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक, मोनिका थापा र सुशील सिटौलाको शीर्ष भूमिका छ । यो एन्थोलोजी फिल्मले साना कथामार्फत पात्रको जीवन यात्राको कथा प्रस्तुत गर्छ । एडल्ट सर्टिफिकेट प्राप्त यो फिल्मको लम्बाइ ११२ मिनेट छ ।

‘हिंड्दा हिंड्दै’ रोमान्टिक ड्रामा फिल्म हो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान र भोला सापकोटाको प्रमुख भूमिका रहेको फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । पात्रको सम्बन्ध वरपरको कथावस्तुमा फिल्म बनेको छ । यो फिल्मको लम्बाइ ११३ मिनेट छ ।

बलिउड फिल्म ‘घुमर’लाई आर बल्कीले निर्देशन गरेका हुन् । ड्रामा जनरामा राखिएको यो फिल्ममा अभिषेक बच्चन, सबाना आजमी, सायमी खेर र अंगद बेदीको शीर्ष भूमिका छ । अनिना नामक एक पात्रले दुर्घटनामा दाहिने हात गुमाउँछ । एक असफल र असन्तुष्ट क्रिकेटरले उसलाई जीवन जिउने नयाँ आशा दिन्छ । अपरम्परागत प्रविधिमार्फत उसले अनिनालाई नयाँ भाग्य दिलाउन खोज्छ । घुमर उनीहरुले सिर्जना गरेको बलिङको नयाँ शैली हो । यो फिल्मको लम्बाइ १३५ मिनेट छ ।

हलिउडको सुपरहिरो फिल्म ‘ब्लु बिटल’ र ‘हन्टिङ अफ द क्वीन म्यारी’ पनि रिलिज भएका छन् । पछिल्लो फिल्म चाहिं हरर ड्रामा हो भने ‘ब्लु बिटल’लाई एक्सन–एड्भेन्चरको श्रेणीमा राखिएको छ ।