काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उच्च अदालत पाटनको आदेशप्रति असन्तुष्टि जनाउँदै सरकार र अदालत भारतको गुलाम भएको आरोप लगाएका छन् ।

हिन्दी फिल्म आदिपुरुषको प्रदर्शन नरोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि उनले असन्तुष्टि जनाउँदै आदेश नमान्ने जनाएका हुन् ।

उच्च अदालत बिहीबार भारतीय फिल्मलगायत सेन्सर बोर्डले स्वीकृत गरेका फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।

बालेनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बालेनले आदिपुरुषको प्रदर्शनमा रोक लगाएपछि त्यसविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।