काठमाडौं, ७ असार । उच्च अदालत पाटनले सेन्सर बोर्डबाट अनुमति पाएका हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनमा रोक लगाएपछि फिल्म हलहरूको छाता संगठन चलचित्र संघ अदालत गएका थिए । उनीहरुको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले बिहीबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका कुनै पनि फिल्म नरोक्न आदेश जारी गरेको हो ।

हिन्दी फिल्म आदिपुरुषमा समावेश जानकी भारतकी छोरी भन्ने संवादप्रति आपत्ति जनाउँदै मेयर शाहले काठमाडौंभित्रका हलमा प्रदर्शन रोक्ने घोषणा गरेका थिए । त्यसविरुद्ध चलचित्र संघ अदालत गएको थियो । अदालतको आदेशसँगै आदिपुरुषको प्रदर्शनको बाटो खुलेको चलचित्र संघका उपाध्यक्ष भास्कर ढुंगानाले जानकारी दिए ।

मेयर शाहले गत सोमबारदेखि नगर प्रहरी खटाएरै काठमाडौंमा फिल्मको प्रदर्शन रोक्नुका साथै काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने बताएका थिए ।