काठमाडौं । पाकिस्तान ‘ए’ ले श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ‘ए’ लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा आइतबार साँझ भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउदै पाकिस्तान च्याम्पियन भएको हो ।

पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ए ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भयो।

भारत ए का लागि ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कप्तान यश धुलले ४१ बलमा ३९ तथा रियान परागले १४ रन बनाए । ओपनर साई सुदर्शनले २८ बलमा २९ रन बनाए ।

पाकिस्तान ए का लागि सोफियान मुकिमले ३ तथा मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो ।

पाकिस्तान ए का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । लिस्ट ए मा चौथो शतक ताहिरले ६६ बलमा पूरा गरेका थिए ।

पाकिस्तान ए ले १ सय २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका दुवै ओपनरले अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर सैब अयबले ५१ बलमा ५९ रन बनाउँदा अर्का ओपनर सहबाज फरहामले ६२ बलमा ६५ रन बनाए ।

मुबासिर खानले ४७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए । ओमिर युसुफ ३५ बलमा ३५ रन बनाउँदै आउट भए ।

भारत ए का लागि रियान पराग र राजवद्र्धन हङ्गेरकरले समान २/२ तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले समान १/१ विकेट लिए ।

पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यस अघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो ।

प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।