काठमाडौं, ८ असार । घरेलु मदिरा जस्तो देखिने वस्तु सेवन गर्दा बर्दियाको मधुवन नगरपालिका – ८ टिसीएन फाँटाका दुई महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार अखाद्य तरल पदार्थ सेवन गर्दा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको हो ।
साथै अखाद्य तरल पदार्थ सेवन गरेका दम्पतीको अवस्था गम्भीर रहेकोले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज बाँके लगिएको प्रहरीले जनाएको छ ।
‘४/५ दिनअघि गणेश शिव मन्दिरको वन क्षेत्रको डम्पिङ साइट नजिकै सालको फूल टिप्न गएका सोही ठाउँकी ५२ वर्षीया लंका वादी र ५६ वर्षीया जगत कुमारीले त्यहाँ ग्यालेन भेटाएका थिए,’ उनले भने, ‘ग्यालेनमा घरेलु मदिरा भएको ठानी घर ल्याएर अखाद्य वस्तु सेवन गरेको अनुसन्धानमा देखिएको छ ।’
उक्त ठाउँ पालिकाको डम्पिङ साइट हो । वादीले भने नपिएको अनुसन्धानमा देखिएको छ । गौरीको असार ६ गते र कमलाको ७ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले गौरीको सोही दिन दाहसंस्कार गरेका थिए । घटनाको शुक्रबार जानकारी पाउनासाथ प्रहरीले शंका लागि कमलाको दाहसंस्कार गर्न नदिएको इलाका प्रहरी कार्यालय ढोढरी, वेलवाका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
नेपालगन्जमा उपचार गराइरहेका ७५ वर्षीय जयबहादुर गुरुङ र उनकी श्रीमती जगत कुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।