काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध सिंह यादव पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा उनलाई सोमबार दिउँसो करिब ३ बजे राजविराज नगरपालिका-७ बाट पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी प्रवीण पोखरेलले जानकारी दिए ।
एसपी श्रेष्ठका अनुसार रिताकुमारी चौधरीको जाहेरीले २०६८ चैत १९ गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको हो । प्रदेश सांसद यादव सप्तरी क्षेत्र नं ४ (ख)बाट प्रत्यक्ष निर्वाचित छन् ।
प्रदेश सांसद यादवलाई पक्राउ गरी सोमबार नै जिल्ला अदालत सप्तरीमा हाजिर गराइएको छ । अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुल्तवीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो ।
२०६४ सालमा भएको एउटा हत्या घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी फरारको सूचीमा थिए ।
यादवकै निर्देशनमा तत्कालीन खोक्सरप्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो । तत्कालीन बोदेबर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पुर्याई गोली हानी चौधरीको हत्या भएको थियो ।