काठमाडौं । नेपालको रैथाने बाली हो कोदो । यही कोदोको बारेमा जनचेतना जगाउने उदेश्यले हरेक वर्ष साउन १५ का दिन राष्ट्रिय कोदो दिवस मनाउन थालिएको छ ।

कोदो खेतीले वर्षाको भेलबाट माटो संरक्षण गरी पर्यावरणीय सुरक्षामा दिएको योगदान र अधिकांश आदिवासी जनजातिहरूको मौलिक संस्कृतिसँग जोडिएको हुनाले पनि नेपालको राष्ट्रिय बाली कोदो खेतीका लागि आजका दिन दिवस मनाउन थालिएको हो ।

उच्च पहाडमा जेठदेखि असार, मध्य पहाडमा असारदेखि साउन, तराई र भित्री मधेसमा साउनदेखि भदौ दोस्रो हप्तासम्म कोदो खेती गरिने प्रचलन छ । त्यसैले पनि साउन १५ गतेका दिन कोदो दिवस मनाउन थालिएको हो ।

साउन १५ गते खिर खाने दिवसकै दिन कोदो दिवस मनाउन थालिएको हो । आजको दिन कोदो दिवस मनाउन थालिँदा बहुआयामिक गुण भएको कोदोको प्रवर्द्धन गर्न सजिलो हुने राष्ट्रिय कृषक समूह महासंघ नेपालको बुझाइ छ । महासंघकै पहलमा २०७३ सालदेखि यो दिवस मनाउन थालिएको हो ।

गुणकारी कोदोको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मनाउन थालिएको कोदो दिवसको अवसरमा आज साउन १५ गते सोमबार कोदोको बारेमा थप जनचेतना जगाउने उदेश्यले काभ्रेमा कोदो दिवस मनाइएको छ ।