काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज (शुक्रबार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

भानु जयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी स्मरण गरिएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि पुष्पमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसबेला ब्राह्मण बटुकहरुले स्वस्तिवाचनसहित वैदिक मन्त्रोच्चारण आदिकवि आचार्यप्रति श्रद्धाभाव व्यक्त गरेका थिए ।

यसअवसरमा नेपाली भाषा र साहित्यमा लामो समयदेखि साधना गरी अतुलनीय योगदान पुर्‍याएवापत प्राध्यापकद्वय डा दयाराम श्रेष्ठ र डा राजेन्द्र विमललाई रथारोहण गरी सम्मान गरिएको छ ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोहमा उनीहरूलाई रथारोहण गरी नगर परिक्रमा गरिएको हो । डा श्रेष्ठ नेपाली कथा लेखनको समालोचनामा र डा विमल कथा लेखन र नेपाली राष्ट्रियता प्रवर्द्धनमा ख्यातिप्राप्त छन् ।

प्रत्येक वर्ष भानु जयन्तीका अवसरमा नेपाली भाषा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिने ज्येष्ठ साहित्यकारलाई बग्गीमा राखेर नगर परिक्रमा गराउने चलन रही आएको छ । यसअघि युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे र समालोचक डा बासुदेव त्रिपाठीलगायतलाई रथारोहण गराइएको थियो ।

तनहुँको भानु नगरपालिका-४ चुदीरम्घाबेसीस्थित भानु जन्मस्थल विकास समितिको कार्यालय परिसरमा निर्माण गरिएको शालिकमा माल्यार्पण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : मिला दरै/रासस

भानुभक्तले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।