काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई थप उपचारका लागि मुम्बई लगिने भएको छ । शनिबार सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना हुँदा घाइते भएका पाइलट सेढाईंलाई ह्याम्स अस्पतालमा उपचारपछि थप उपचारका लागि मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लगिने भएको हो ।

यसअघि सेन्टरमै सांसद चन्द्र भण्डारीको उपचार भएको थियो । शनिबार बेलुका अस्पतालले विज्ञप्ति जारी गर्दै सेढाईंको मुखको भाग हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको जनाएको छ । त्यस्तै फोक्सो र मेरुदण्ड तथा किड्नीमा पनि समस्या भएको अस्पतालले जनाएको छ । परिवारसँगको सल्लाहपछि पाइलट सेढाईंलाई मुम्बई लैजाने तयारी भएको ह्याम्स अस्पतालका कन्सल्टेन्ट/इन्टेन्सिभिस्ट डा. सबिन कोइरालाले जनाएका छन् ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।

लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेढाईं मात्र थिए । आगलागी भएर हेलिकप्टर पूर्ण रुपमा जलेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।

हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।