काठमाडौं । सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाबारे पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले उक्त घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको जानकारी दिइन् ।
‘आज मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ,’ प्रवक्ता शर्माले भनिन् ।
त्यसैगरी बैठकले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गरेको छ । वरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको पनि मन्त्री शर्माले बताइन् ।