विलिङटन । फिफा महिला विश्वकप फुटबलमा स्विडेनले दक्षिण अफ्रिकालाई दुई-एक गोलले पराजित गरेको छ । समूह जीमा रहेको स्विडेन एक-शून्य गोलले पछि परेको अवस्थाबाट खेलमा फर्किएको हो ।

न्युजिल्यान्डको विलिङटनमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । स्विडेनले खेल आफ्नो नियन्त्रणमा राखे पनि दक्षिण अफ्रिकाको डिफेन्सलाई तोड्न सकेन ।

अन्डरडग टिमका रुपमा रहेको दक्षिण अफ्रिकाकी गोलकिपरले सन्तोषजन प्रदर्शन नगरे पनि गोल भने खाइनन् । तर दोस्रो हाफको सुरुवातमै दक्षिण अफ्रिकाले डेडलक तोड्दा स्विडेन स्तब्ध बन्यो । थेम्बी गाट्लानाले स्वेडिस डिफेन्डरलाई छल्दै गरेको प्रहार गोलकिपर जेसिरा मुसोभिचले बचाएकी थिइन् ।

४८औं मिनेटमा हिलदाह मागा इयाले सोही रिबाउन्डमा गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएकी हुन् । विश्वकपमा दक्षिण अफ्रिकाले गरेको यो केवल दोस्रो गोल हो । यसअघि सन् २०१९ मा डेब्यू विश्वकपमा दक्षिण अफ्रिकाले स्पेनविरुद्ध एक गोल गरेको थियो । तर उसको खुसी लामो समय टिकेन् ।

६५औं मिनेटमा फ्रिडोलिना रोल्फको गोलमार्फत स्विडेनले खेल एक-एकको बराबरी गर्‍यो । ९०औं मिनेटमा अमान्दाले हेडर गोल गरेपछि स्विडेनले दुई-एक गोलको पुनरागमन जित निकाल्दै तीन अंक जोडेको हो ।

विश्वकप फाइनलमा पछि परेको स्थितिबाट खेलमा फर्किएर तीन अंक जोड्ने स्विडेन पहिलो टोली हो । यस्तै जारी प्रतियोगितामा दश खेल सकिँदा दुवै टिमले गोल गरेको पनि यो पहिलो हो । दक्षिण अफ्रिका भने अग्रता जोगाउन नसक्दा विश्वकपमा आफ्नो पहिलो अंक जोड्नबाट चुक्यो । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिका समूहका तीनै खेलमा पराजित भएको थियो ।